२०८२ बैशाख ६ गते शनिबार (१९ अप्रिल २०२५) ३०औं वन्यजन्तु सप्ताहको अवसरमा रत्ननगर र सौराहा, चितवनमा वन्यजन्तु तथा वातावरण संरक्षणमूलक सचेतना र्याली सम्पन्न भयो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिद्वारा आयोजित र्यालीमा स्थानीय क्लब, महिला समूह र सांस्कृतिक समूहसँगै सफा ऊर्जा उत्पादन प्रा. लि. पनि समन्वयकारी संस्थामध्ये एक थियो।
र्यालीको मूल सन्देश थियो: वन्यजन्तुको आनीबानी बुझौं, मानवसँगको द्वन्द्व र हानि-नोक्सानी घटाऔं। थारु महिला झमरा सांस्कृतिक समूहले परम्परागत नाच र बाजासहित शोभायात्राको नेतृत्व गरे, र सफा ऊर्जाको टोली हाम्रो ब्यानर “स्रोतमै फोहोर छुट्याउने बानीको विकास, सुन्दर नगर हाम्रो एउटै निकास।” बोकेर हिँड्यो।
सफा ऊर्जाको टोलीले बोकेका सन्देश
- स्वच्छ वायु, लामो आयु – प्लास्टिक र फोहोर जलाउँदा निस्कने धुवाँले फोक्सोमा हानि गर्छ
- सफा मल, सफा जल – जैविक मलले माटो र पानी स्वस्थ राख्छ
- पानीको मुहान संरक्षण – मुहान वरिपरि फोहोर नगरौं
- प्लास्टिकजन्य वस्तुको प्रयोग कम गरौं – घटाऔं, फेरि प्रयोग गरौं, पुन:प्रशोधन गरौं
- वन्यजन्तु सप्ताह सफल पारौं – प्रकृतिलाई हामीले रक्षा गरे प्रकृतिबाट हाम्रो रक्षा हुन्छ
- आफूलाई जोखिममा राखेर नगर सफा गर्ने सफाइकर्मीलाई सम्मान गरौं
- कुरामात्र होइन, काम गर्ने बानी बसालौं – घरमै फोहोर छुट्याऔं, वातावरणप्रति सजग रहौं
वन, वन्यजन्तु, पानी र स्वच्छ हावा सबै हामीले फोहोर कसरी व्यवस्थापन गर्छौं भन्नेमा निर्भर छन्। मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, सांस्कृतिक समूह र सहभागी सबै संस्था तथा समुदायलाई धन्यवाद।




















